पृष्ठभूमि:
सहकारी विकासको विश्व इतिहासलाई हेर्ने हो भने सन् १८४४ मा बेलायतको रोचडेल अभियानलाई स्मरण गर्नुपर्ने हुन्छ । यो अभियान विश्वभरि फैलिदै नेपालमा वि.स. २०१३ साल चैत्र २० गते चितवनको बखान सहकारीबाट अगाडि बढेको पाइन्छ । स्थानीय स्तरमा सहकारीको शुरुवात भएको भएता पनि सहकारीको मूल मर्म अनुसार सहकारी अभियान अगाडि बढ्न सकिरहेको थिएन । स्थानीय जनताले स्वायत्त रुपमा सहकारी स्थापना गर्न सक्ने वातावरण सहकारी ऐन २०४८ र नियमावली २०४९ आएपछि मात्र प्राप्त भएको देखिन्छ । वि.स. २०१३ सालबाट वैधानिक रुपमा देशमा सुरु भएको सहकारी आन्दोलनले अनेकौं समस्या झेल्दै वि.स. २०४८ सालमा आएर ऐतिहासिक फड्को मारेको पाईन्छ । २०४८ को सहकारी ऐनले सहकारी संस्थालाई आन्तरिक व्यवस्थापन तथा स्व–नियन्त्रणमा चल्न सक्ने अवस्था सिर्जना भएपछि सहकारी आन्दोलनले तिव्रता पाएको ईतिहास रहेको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू नेपालभरि क्रियाशील रहेका छन् कतिपय बहुउद्देश्यीय संस्थाहरूले पनि बचत तथा ऋण कारोबारलाई आफ्नो मुख्य उद्देश्यका रूपमा स्वीकार गरी सोहीअनुसार काम गर्दै आएका देखिन्छन् । पछिल्लो समय नेपाल संघीय संरचनामा गैसके पछाडि देशको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा प्रत्यक्ष परिवर्तन भएका छन् । त्यसैको फलस्वरुप वि.स. २०७४ मा सहकारी ऐन र वि.स. २०७५ मा सहकारी नियमावली जारी भई कार्यान्वयनमा आएका छन् । गण्डकी प्रदेश कानुन मन्त्रालयबाट समेत प्रदेशस्तरीय सहकारी ऐन २०७५ समेत जारी भएर कार्यान्वयनमा रहेको अवस्था छ । यसरी हेर्दा वर्तमान कानुन, ऐन र नियमले सहकारीहरुलाई फुल्ने, फल्ने र मौलाउने अवसर सिर्जना भएको छ ।
कतिपय अवस्थामा महिलाहरुको सामाजिक, आर्थिक, लैङ्गिक तथा सांस्कृतिक सशक्तिकरण गर्न स्वयं महिलाहरू सक्रिय भई महिला सहकारी संचालन गर्दै आएका छन् । केही सहकारी संस्थाहरू स्वतःस्फूर्त रूपमा प्रार्दुभाव भएका छन् भने केही अन्य संस्थाहरू सरकारी एवं गैरसरकारी संस्थाहरूको परियोजनाद्वारा कार्यक्रमको हिस्साका रूपमा गठित समूहहरुलाई एकीकरण गरी दर्ता भएका छन् । प्रजातन्त्रको पुर्नस्थापना र नयाँ ऐन तथा नियमावली जारी भएपछि सहकारीहरुले फुल्ने, फल्ने र मौलाउने अवसर पाएका हुन् । सहकारी विभागले २०७७-०९-२० मा जारी गरेको प्रेस विज्ञप्ति अनुसार २०७७ कार्तिक सम्म २९८८६ सहकारी संस्था, २० वटा विषयगत केन्द्रीय संघ, १ वटा राष्ट्रिय सहकारी बैङ्क, १ वटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला संघ रहेका छन् । नेपाल संघीय शासन प्रणालीमा गैसकेपश्चात सात प्रदेश मध्ये गण्डकी प्रदेशमा मात्रै २६७१ वटा सहकारी संस्थामा ११ लाख १६ हजार ६ सय ३२ जना सदस्यहरु रहेको देखिन्छ । प्रदेशको मातहतमा नै यस मुना बचत तथा ऋण सहकारी संस्था लि. रहेको छ ।
विभिन्न प्रकृतिबाट जन्मिएका सहकारी संस्थाहरू सहकारिताका मूल्य, मान्यता र सिद्धान्त अनुसार संचालन हुदै आएका छन् । सामाजिक, साँस्कृतिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा समानता पाउन संर्घषरत महिला सहकारी संस्थाहरू समेत यस सहकारी अभियानमा सक्रिय रहेका देखिन्छन् । नेपालमा अहिले सहकारीलाई समेत प्राथमिकतामा समावेश गरी तीन खम्बे अर्थ नीति ल्याएको छ ।
नवलपरासी (ब.सु.पू) जिल्ला नेपालको गण्डकी प्रदेशमा पर्दछ । यो प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पहाड, भित्री मधेश र मध्य क्षेत्र गरि तीन भागमा अवस्थित जिल्ला हो । सबै गाउँ पालिका र नगरपालिका क्षेत्रमा सहकारी दर्ता भई सञ्चालनमा रहेका छन् । यस जिल्लाका ४ वटा नगरपालिका मध्ये सहकारीको विकास र विस्तार गैडाकोट नगरपालिकामा बढि रहेको देखिन्छ । विभिन्न प्रकृतिका ३ दर्जन सहकारी संस्थाहरु यस नगरपालिकामा रहेका छन् । यस जिल्लाको पूर्वी दक्षिण सिमानामा चितवन जिल्ला (बाग्मती प्रदेश), पश्चिमी सिमानामा नवलपरासी जिल्ला (ब.सु.प) (लुम्बिनि प्रदेश) तथा उत्तरमा तनहुँ र पाल्पा जिल्ला रहेका छन् ।
संस्थाको परिचयः
नेपालको मध्यभागमा अवस्थित गण्डकी प्रदेश, नवलपरासी जिल्ला (ब.सु.पू) को पूर्वउत्तरमा कालीगण्डकी नदी र मौलाकालिकाको फेदी, दक्षिण सीमा पवित्र नारायणी नदीको किनारमा अवस्थित वि.सं. २०५७ मा स्थापित मुकुन्दसेन बचत तथा ऋण सहकारी संस्था लि., गैंडाकोट–४ र सोही स्थानमा २०५७ मा नै स्थापित नारीकल्याण बचत तथा ऋण सहकारी संस्था लि., गैंडाकोट–४ आ–आफ्नै अस्थित्वमा सञ्चालन हुँदै आएका बचत तथा ऋण सहकारी संस्थाहरुमा एकै परिवारका सदस्यहरु दोहोरो सदस्यता लिई दुबै संस्थाहरुबाट सेवा सुविधा लिँदै सहकारिताको मर्म अनुसार आपसी हितका लागि कार्य गर्दै आएता पनि शेयर सदस्य र समुदायको वृहत्तर हितका लागि दुवै संस्था एकीकरण गरी अझ प्रभावकारी ढङ्गबाट अगाडि बढ्ने उद्देश्य लिई दुवै संस्थाको साधारण सभाले दिएको अधिकार प्रयोग गर्दै यसै समुदायमा रहेका बुद्धिजीवी, समाजसेवी समेतको रायसल्लाह लिई दुवै संस्थाको अस्तित्व रहने गरी वि.सं. २०७३ साल मंसिर २५ गते एकीकरण गर्ने निर्णय अनुरुप एकीकृत बचत संस्था "मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड” स्थापना गरिएको हो। यस ऐतिहासिक कदममा दुवै बचत संस्था एकिकरणको भूमिका खेल्ने प्रवर्धकीय संस्था मुकुन्दसेन सामुदायिक विकास प्रतिष्ठान, गैंडाकोटका तत्कालीन कार्यसमिति सदस्यहरु लगायत संस्थागत विकासका लागि प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुर्याउनु हुने महानुभावहरु प्रति उहाँहरुको योगदानको उच्च मूल्याङ्कन गरि सम्मान प्रकट गर्दै सहकारीको सिद्धान्त अनुसार सदस्यहरुलाई आफूले आर्जन गरेको आम्दानीबाट नियमित रुपले बचत गर्न अभिप्रेरित गरी संकलित भएको बचत रकम उत्पादनशील कार्यमा आवश्यक भएका सदस्यहरुलाई सीपमूलक, आयआर्जन कार्यक्रम लगायत आफ्नो आर्थिक संकट टार्ने कार्यको लागि उचित ब्याजदरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक, सामाजिक अवस्थामा सुधार गर्ने उद्देश्यका साथ तत्कालीन सहकारी ऐन २०४८ को दफा १२ र सहकारी नियमावली २०४९ को दफा ११ ले दिइएको अधिकारको प्रयोग गरी तत्कालीन डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भई यस “मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड–२०५७” सञ्चालनमा आएको हो ।
यसै परिप्रेक्ष्यमा नेपालको समग्र राजनीतिक परिवर्तनसँगै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीमा गएको र सहकारी ऐन, नियममा समेत परिवर्तन भई नयाँ ऐन तथा नियमहरु जारी भई लागू भैसकेको हुँदा वर्तमान सहकारी ऐन, २०७४ को दफा २७ को उपदफा (१), सहकारी नियमावली, २०७५ को नियम १५ ले निदृष्ट गरेको अनुसूची १३ का बुँदाहरु र गण्डकी प्रदेशद्धारा जारी सहकारी ऐन २०७५ रहेका छन् ।
कार्य क्षेत्रको संक्षिप्त परिचयः
भौगोलिक अवस्थाः
मुना बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र संसदीय चुनाव क्षेत्र नं १ नवलपरासी जिल्ला क्षेत्रभित्र सीमित रहनेछ । गैडाकोट वडा नं ४ मा मुख्य कार्यालय रहेको यस संस्थाको पूर्वी सिमानामा नारायणी नदी र चितवन जिल्लाको भरतपुर महानगरपालिका पर्दछ । पश्चिममा कावासोती नगरपालिका, उत्तरमा काली गण्डकी नदी एवंम् तनहुँ जिल्ला र दक्षिणमा नारायणी नदी पर्दछ। नारायणगढ बजार अर्थात गैडाकोटको प्रस्थानदेखि पूर्व पश्चिम राजमार्ग कावासोतीसम्म ३६ कि.मी. पर्दछ । संस्थाको कार्यक्षेत्रभित्र औद्योगिक क्षेत्र, धार्मिक मठ मन्दिरहरु, संघ संस्थाहरु, सामुदायिक वनहरु र विभिन्न जातजातिका व्यक्तिहरुको बसोबास रहेको छ । भित्री मध्य प्रदेशमा पर्ने भएको र विकासका पूर्वाधारहरुको पर्याप्तताले गर्दा जनआवादी राम्रै देख्न सकिन्छ ।
उत्पादन र बजारः
नवलपरासी जिल्ला निर्वाचन क्षेत्र नं १ भित्र शहरोन्मुख नगरपालिकाहरु रहेका छन् । यहाँ कृषि योग्य जमिनहरु घट्दै गई रहेको र कृर्षि क्षेत्र आवासीय क्षेत्रमा परिणत हुदै गई रहेको छ । यहाँ समथर भु-भागको मुख्य उत्पादन मकै, धान, गहुँ र पहाडी भु-भागको मुख्य उत्पादन कागती, बेसार, अदुवा, सुन्तला, जुनार,अमला आदी रहेको छ तर यस क्षेत्रमा युवा वर्गको संलग्नता निकै नै कम रहेको देखिन्छ । औद्योगिक क्षेत्रमा गोर्खा ब्रुअरी, टाइम फर्मास्युटिक्ल्स जस्ता ठूला कारखानाहरु सहित स-साना उद्योगहरु पनि प्रशस्त मात्रामा सञ्चालनमा रहेका छन् । यहाँ उत्पादित चिजवस्तुहरु स्थानीय बजारका साथै नारायणगढमा बिक्री गर्न लाने गरेको पाइन्छ । पूर्वमा भरतपुर महानगरपालिकामा अवस्थित नारायणगढ बजारले उत्पादित वस्तुहरुको खपत र बिक्रीमा सहज बनाइदिएको छ । कृषि, पशुपालन, उधोग धन्दा र स्वदेश तथा वैदेशिक रोजगार आय आर्जनका मुख्य स्रोतहरु रहेका छन् ।
भाषा धर्म र संस्कृतिः
कार्यक्षेत्रलाई भाषा, धर्म र संस्कृतिको हिसाबले हेर्नुपर्दा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । जनमानसमा प्रसिद्धि पाएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, मणिमुकुन्दसेन राजाको पालादेखि नै परिचित रहेको कैलास आश्रम, मुकुन्दसेन दरबार, त्रिपुरेश्वर हरिहर मन्दिर नारायणी तट लगायत धार्मिक मन्दिरहरुको स्थलका रुपमा रहेको छ । तसर्थ यस क्षेत्रमा हिन्दु धर्म मान्नेहरुको संख्या बढी रहेको पाइन्छ । तथापी यहाँ बौद्ध र क्रिश्चन धर्म मान्नेहरुको पनि बाहुल्यता रहेको छ । विशेष गरी दशै, तिहार, शिवरात्रि, जन्माष्टमी, जनैपूर्णिमा, इद, किसमस, ल्होसार आदि चाडपर्वहरु यस क्षेत्रका मुख्य पर्वहरु रहेका छन् । विभिन्न जातजाति धर्मका व्यक्तिहरुको बसोबास भएतापनि एउटै बगैचाको फुलबारी सरह एक अर्का प्रति मेलमिलाप, सद्भाव, सहिष्णुता र सहयोगको वातावरण रहको छ ।
विकासका पूर्वाधारः
गैँडाकोट, देवचुली र कावासोती नगरपालिकामा राम्रो भौतिक पूर्वाधारहरुको विकास भएको पाइन्छ । यस क्षेत्रमा ३६ किलोमिटर पूर्व पश्चिम महेन्द्र राजमार्ग पर्दछ भने जनसहभागिताद्धारा बाटोहरु निर्माण तथा कालोपत्रे भइरहेको छ । शैक्षिक अवस्थामा सरकारी र निजी प्रा.वि. देखि कलेजसम्मको शिक्षा यसै क्षेत्रमा उपलब्ध छ । यस क्षेत्रमा जनताहरुको सक्रियतामा धार्मिक यज्ञहरु गरी रकम संकलन गरेर कलेज, विद्यालय, मठ मन्दिर, गुम्बा चर्च आदि निर्माण भएका छन् । उच्च शिक्षा हासिल गर्न प्रायः वैदेशिक मुलुकमा गएको देखिन्छ । यस क्षेत्रमा नीजि तथा सामुदायिक अस्पतालहरु, स्वास्थ्य प्राविधिक शिक्षण संस्थाहरु, क्लिनिक तथा औषधी पसलहरु पनि सञ्चालनमा रहेका छन् । यसैगरी पछाडि परेको वर्गका महिलाहरुको विकासका निम्ति संजाल स्थापना भई सक्रियतापूर्वक काम गरेका छन् । केही क्षेत्रमा खानेपानीको व्यवस्था भैसकेको छ भने केही योजनाहरु चालु र व्यवस्थापन हुँदै गरेका छन् । यस क्षेत्रको मुख्य संचारको माध्यमका रुपमा स्थानीय रेडियो, टेलिभिजन,ईन्टरनेट तथा सामाजिक सञ्जाल, टेलिफोन, मोवाइल र हुलाक कार्यालय आदि रहेका पाइन्छन् । विद्युतका राम्रो सुविधा भए तापनि राजमार्गभन्दा टाढा रहेका बस्तीहरुमा अझै पनि विद्युत सुविधा पुर्याउन बाँकी रहेको पाइन्छ ।