नवलपरासी (ब.सु.पुर्व), ८ भाद्र २०८१ – गैडाकोट स्थित मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सदस्य शिक्षा तथा वित्तीय साक्षरता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विजय विकास स्रोत केन्द्रमा सम्पन्न भएको हो।
उक्त कार्यक्रमका प्रशिक्षक प्रेम प्रसाद सापकोटा (राजु)ले सहकारी सदस्यहरूलाई वित्तीय साक्षरताका महत्व, बचतको आवश्यकता तथा ऋण व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सहकारी क्षेत्रको दिगो विकास र वित्तीय अनुशासनको विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मिलनराज घिमिरेले गर्नुभएको थियो भने शिक्षा उप-समितिका संयोजक हरी प्रसाद गौतमले कार्यक्रमको संयोजन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत चुडामणि पाण्डेले गर्नुभएको थियो।
सहकारीका सदस्यहरूबीच वित्तीय साक्षरताको प्रभावकारिता तथा सहकारीको सही उपयोगबारे व्यापक छलफल भएको कार्यक्रम फलदायी बनेको सहभागीहरूको प्रतिक्रिया रहेको छ। आयोजक संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


